२७ भदौ, काठमाडौं । आसिफ शेखको शानदार शतक तथा गुल्शन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध बलियो योगफल खडा गरेको छ ।

वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको दोस्रो शतक हो ।

त्यस्तै गुल्शन झाले आक्रामक इनिङ खेल्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए ।

आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि उनले इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।

नेपालको बलियो योगफल रोक्ने क्रममा यूएईका इबरार अहमदले ४ विकेट लिए । खुजाइमा बिन तनभिरले २ विकेट लिँदा हैदर अली र अदीब उसमानीले समान १–१ विकेट हात पारे ।

अब ३१४ रनको लक्ष्य पछ्याउँदै यूएई मैदानमा उत्रिनेछ । फाइनलमा नेपालले जित हात पारेमा एसिया कपका लागि छनोट हुनेछ, जसका कारण यो खेल नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com