२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रसुवा र नुवाकोटमा बाढीपछि भइरहेको पुनर्निर्माण शीघ्र हुनेमा सरकारमाथि प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद् भवनमै पुनर्निर्माणको काम सुस्त रहेको भन्दै बाढी प्रभावित क्षेत्रका नागरिकले सरकारको पुनर्निर्माण योजनामाथि कसरी विश्वास गर्ने भन्ने प्रश्न गरेका हुन्।
उनले भने, ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यवहारिक कमजोरी पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गरे। पुनर्निर्माणका लागि आवश्यक योजना, प्रक्रिया र कार्यान्वयनमा रहेका अवरोध तत्काल हटाउनुपर्ने उनको भनाइ थियो।
उनले निजी क्षेत्रले भने विपद्पछि पुनर्निर्माणमा देखाएको सक्रियताको प्रशंसा गरे। भदौ २४ को घटनाबाट क्षतिग्रस्त व्यापारिक केन्द्रहरू निजी क्षेत्रकै सक्रियताका कारण तुलनात्मक रूपमा छिटो पुनः सञ्चालन र निर्माणतर्फ अघि बढेको उनले बताए।
‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने।
तर, सिंहदरबार प्रवेश गरेपछि त्यस्तो ऊर्जा महसुस गर्न नसकिने आचार्यको टिप्पणी थियो। उनका अनुसार सिंहदरबार, गृह मन्त्रालयलगायतका संरचना अझै पनि पुनर्निर्माणको प्रतीक्षामा छन्।
‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु,’ उनले भने।
सरकारले चालु बजेटदेखि नै नयाँ संसद् भवनबाट संसद् सञ्चालन गर्ने बताएको भए पनि अहिलेसम्म अस्थायी भवनबाटै संसद् बैठक सञ्चालन भइरहेको भन्दै आचार्यले सरकारको पुनर्निर्माण कार्यक्षमतामाथि समेत प्रश्न उठाए।
उनले राज्यका महत्वपूर्ण संरचनाको पुनर्निर्माणमै ढिलाइ भइरहेका बेला बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको घर, सडक, पुल तथा अन्य संरचनाको पुनर्निर्माण समयमै सम्पन्न हुने विश्वास दिलाउन सरकारले व्यवहारमै काम गरेर देखाउनुपर्ने बताए।

