काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका १ हजार ३८६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८६ जनाको शव फेला परेको हो।

फेला परेका शवमध्ये १०२ जनाको सनाखत भइसकेको प्राधिकरणले जनाएको छ। जिल्लागत विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये ५१० जनाको आंशिक मानव अंग मात्र रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ५८७ जना विदेशी नागरिक रहेका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य नेपाली सेना र नेपाल प्रहरीले जारी राखेका छन्।

हालसम्म १३ हजार ७२८ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यका लागि हालसम्म हेलिकोप्टरले १ हजार ४८२ पटक उडान गरिसकेको प्राधिकरणले जनाएको छ।

शव पहिचानका लागि हालसम्म १ हजार २८६ मृतकको तथा १ हजार ७७९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ। डीएनए परीक्षणमार्फत सनाखत हुन नसकेका शव तथा मानव अंगको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com