काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री साहले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभारसमेत ग्रहण गरेका छन्।
यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी साहलाई दिइएको हो।
साह सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए। साहले कार्कीलाई करिब २६ हजार मतान्तरले पराजित गरेको विवरण छ।
को हुन् दीपककुमार साह?
दीपककुमार साह सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको विषयलाई लिएर उनलाई उपाध्यक्ष पदबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो।
पछि पार्टीले उनलाई गुटगत गतिविधि सञ्चालन गरेको तथा पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाउँदै पूर्ण रूपमा निष्कासन गरेको थियो।
पार्टीबाट निष्कासित भए पनि साहले सुनसरी–४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै प्रभावशाली मतान्तरसहित जित हासिल गरेका थिए। अहिले प्रधानमन्त्री शाहको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएसँगै साहको राजनीतिक भूमिकासमेत थप महत्वपूर्ण बनेको छ।
नवनियुक्त मन्त्री साहका अगाडि उद्योग क्षेत्रको पुनरुत्थान, आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका चुनौती छन्।

