काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा भर्ना खुला भएसँगै आवेदन दिन युवाहरूको उल्लेख्य भीड लागेको छ।
काठमाडौँसहित देशभरका जिल्ला प्रहरी कार्यालयमा युवाहरू आवेदन दिन लामबद्ध देखिएका छन्। शुक्रबार दिनभर जिल्ला प्रहरी परिसर काठमाडौँमा कागजपत्र मिलाउने र आवेदन बुझाउनेको घुइँचो लागेको थियो।
नेपाल प्रहरीले आजदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरीका लागि आवेदन दिन सकिने जनाएको छ। गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो।
त्यसमध्ये नेपाल प्रहरीको कोटामा परेको १ लाख ३३ हजार ९८० जनाका लागि आजदेखि भर्ना प्रक्रिया सुरु गरिएको छ। सशस्त्र प्रहरीले पनि केही दिनभित्रै निर्वाचन प्रहरीका लागि आवेदन खुलाउने तयारी गरेको जनाएको छ।

निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा करिब ४० दिनको कार्यअवधि तोकेर झन्डै डेढ लाख निर्वाचन प्रहरी परिचालन गरिनेछ।
निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा सुरक्षा निकाय सम्मिलित समिति गठन गरिनेछ। यसअघि
‘म्यादी प्रहरी’ भनिँदै आएको पदलाई यसपटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको हो।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका, छिमेकी मुलुकका सुरक्षा निकायबाट अवकाश पाएका तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ।

