गुनासो चौतारी , काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच हुने भनिएको पार्टी एकता शनिबार औपचारिक रूपमा भाँडिएको छ। रास्वपाले उनेपाका संरक्षक कुलमान घिसिङले राखेका विभिन्न अडानका कारण एकता सम्भव नभएको दाबी गरेको छ।
पुस १४ गतेदेखि सुरु भएको एकता प्रयास विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न नसकेपछि दुवै दल आ–आफ्नै ढङ्गले अघि बढ्ने निष्कर्षमा पुगेका हुन्। रास्वपाका अनुसार कुलमान घिसिङले प्रधानमन्त्रीसरहको भूमिका, वरिष्ठ उपसभापतिको पद, थप एक महामन्त्रीसहित पदाधिकारी र सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका थिए।
साथै समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो स्थानमा राख्नुपर्ने अडान नछाडेपछि सहमति टुटेको रास्वपाको भनाइ छ। रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकता अपनाउँदा पनि सहकार्य सम्भव नभएको बताएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पदाधिकारी संरचना परिवर्तन र नयाँ राजनीतिक सिद्धान्त निर्माणको मागमा रास्वपा सहमत हुन सकेन। यसैबीच, एकता प्रक्रिया असफल भएपछि उनेपाको केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई पार्टी अध्यक्ष घोषणा गरेको छ।
रास्वपा र उनेपाबीच पुस १४ गते सात बुँदे एकता सहमति भएको थियो। तर सो सहमतिअनुसार दुवै पक्ष अघि नबढेपछि सहमति खारेज गरिएको रास्वपाले जनाएको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले उनेपासँगको सहमति औपचारिक रूपमा रद्द गरेको हो।
यता उनेपाका नेताहरूले भने रास्वपा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताका मुद्दामा स्पष्ट नभएकाले एकता भाँडिएको दाबी गरेका छन्। कुलमान निकट नेता गणेश घिसिङले यी विषय मूल कारण भएको बताएका छन्।
स्रोतका अनुसार उनेपाले अब अर्को पार्टीसँग एकता गरी पुस २८ अघि नै समानुपातिक उम्मेदवार सूची सच्याउने तयारी गरेको छ भने प्रत्यक्षतर्फका उम्मेदवार पनि आफ्नै तरिकाले तय गर्ने जनाएको छ।

