काठमाडौँ — कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने महाधिवेशन प्रतिनिधिको संख्या २ हजार १८५ पुगेको छ। आइतबार साँझ ६ बजेर ५ बजेसम्म उक्त संख्यामा प्रतिनिधिले नाम दर्ता गराइसकेको महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेले जानकारी दिए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको हो। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ। आज आठ वटा स्टलबाट नाम दर्ता भइरहेको छ भने बिहान ९ बजेदेखि प्रक्रिया सुरु गरिएको थियो।
कांग्रेसले कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल तथा बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ। कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन्।
विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए। विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा गरेका हुन्। बन्दसत्र भृकुटीमण्डपस्थित सभाहलमा सञ्चालन हुनेछ।

