सबैलाई पठाउनु होला

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा उनले पार्टी सुदृढीकरणका क्रममा व्यवस्थापकीय विषयहरू छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्दै नेतृत्व नै बाधक बने परिवर्तन गर्न पनि पछि नहट्ने स्पष्ट पारे।

अहिलेसम्म भएका घटनाक्रम र विभिन्न ‘अग्नि परीक्षा’हरूले राष्ट्रवादी आन्दोलनको मूलधार र प्रमुख शक्ति राप्रपा नै भएको प्रमाणित भएको लिङ्देनको भनाइ थियो। उनले नेपालको निर्णायकता विदेशी शक्तिको प्रभावमा परेको अनुभूति भइरहेको भन्दै समान विचार भएका शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, राष्ट्रियता सुदृढ गर्न तथा समुन्नत, समृद्ध र सबल राष्ट्र निर्माणको जिम्मेवारी युवापुस्तालाई हस्तान्तरण गर्नु आफ्नो कर्तव्य भएको उनले बताए। अध्यक्ष लिङ्देनले आगामी निर्वाचनलाई ‘निर्वाचनरूपी आन्दोलन’ को संज्ञा दिँदै इमान्दारीका साथ मेहनत गरी त्यसमा होमिन पार्टी पंक्तिलाई अपिल गरे।

कार्यक्रममा राप्रपाका नेता कमल थापाले जेन–जीको म्यान्डेटअनुसार भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउने क्षमता राप्रपामा मात्रै रहेको दाबी गरे। देशको वर्तमान संकटको मुख्य कारण संघीय, धर्मनिरपेक्ष गणतन्त्र भएको उनको भनाइ थियो।

थापाले सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली स्थापनाका लागि सडक र सदन दुवै माध्यमबाट निरन्तर दबाब दिइने बताए। साथै, आगामी निर्वाचनमा राप्रपालाई पूर्ण बहुमत दिलाउन राष्ट्र निर्माणका लागि एकताबद्ध हुन उनले आह्वान गरे।

ChatGPT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com