२९ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएका छन्।
महाधिवेशनको बन्दसत्रमा सोमबार महामन्त्रीद्वयले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका थिए। थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने शर्माले पार्टीको सांगठानिक प्रतिवेदन पेश गरेका थिए।
पेश गरिएका प्रतिवेदनहरूमाथि समूहगत छलफल गरिएको थियो। छलफलपछि विभिन्न समूहका टोली नेताहरूले निष्कर्ष प्रस्तुत गरेका थिए। त्यसलगत्तै मंगलबार बसेको बन्दसत्रले दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
महाधिवेशनमा पारित प्रतिवेदनहरूले पार्टीको आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणका विषयमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

