रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
जिल्ला रौतहट, गौर नगरपालिका–स्थित रौतहट जिल्ला अदालत मा कार्यरत सिंहले अदालतको फैसलाबमोजिम दर्ता खारेज (दा.खा.) पुर्जी गरी जग्गा फुकुवा गराइदिने नाममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
आयोगका अनुसार सिंहले सेवाग्राहीबाट रु. ५०,००० (पचास हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा उनलाई आज मिति २०८२ चैत १७ गते अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा घुस रकमसहित मोबाइल फोन एक थान समेत बरामद गरिएको छ।
घटनाबारे आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

