सबैलाई पठाउनु होला

सहकारी ठगी प्रकरण : ४ अर्बभन्दा बढी बचत गायब, अध्यक्षसहित चार पक्राउ

काठमाडौं, २० चैत । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा भएको ठूलाे आर्थिक हिनामिना प्रकरणमा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टका अनुसार सहकारीमा १० हजार ५९८ बचतकर्ताको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको देखिन्छ। तर उक्त रकममध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह भएको विवरण भेटिएको छ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको बाँकी अर्बौं रुपैयाँको कुनै स्पष्ट विवरण नदेखिनु हो। प्रारम्भिक अनुसन्धानले ठूलो रकम हिनामिना गरिएको आशंका बलियो बनाएको छ। त्यसमाथि प्रवाह गरिएको ऋणसमेत कमसल धितो वा बिना धितो दिइएको खुलेपछि व्यवस्थापनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको प्रहरीले जनाएको छ।

यस प्रकरणले सहकारी क्षेत्रमा नियमनको कमजोरी, आन्तरिक सुशासनको अभाव र बचतकर्ताको रकम सुरक्षामा गम्भीर चुनौती रहेको पुनः उजागर गरेको छ। हजारौं सर्वसाधारणको पसिनाको कमाइ जोखिममा परेको यो घटनाले सहकारी प्रणालीप्रति विश्वासमै धक्का पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com