बुटवलमा भूमिहीन तथा सुकुमवासीको प्रदर्शन, ‘बिना विकल्प बस्ती खाली गर्न पाइँदैन’
२४ वैशाख, बुटवल । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समिति को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले बिना विकल्प बस्ती खाली गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतमा भूमि आयोगमार्फत सुरु गरिएको व्यवस्थापन प्रक्रिया अघि बढाउन र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री तथा बालेन्द्र शाह विरुद्ध नाराबाजी गर्दै ‘डोजर आतंक बन्द गर’, ‘नागरिकलाई विस्थापित होइन स्थापित गर’, ‘हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध ?’, ‘मानव अधिकारको सम्मान गर’, ‘ध्वंस होइन बाँच्ने अधिकार दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
राजमार्ग चौराहाबाट सुरु भएको र्याली अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको संघर्ष समितिले जनाएको छ । प्रदर्शनमा जिल्लाका विभिन्न स्थानबाट भूमिहीन तथा अव्यवस्थित बसोवासी सहभागी भएका थिए ।
संघर्ष समितिका अनुसार रुपन्देही जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी गरी ८० हजारभन्दा बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।
विघटित आयोगका पूर्व अध्यक्ष कुमार थापा मगर का अनुसार जिल्लामा करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ ।

