सबैलाई पठाउनु होला

बारा, कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। कलैयामा आयोजित बैठकमा आन्तरिक विवाद चर्किएपछि केही प्रतिनिधिसभा सदस्यलाई आक्रोशित कार्यकर्ताहरूले धक्का दिँदै बैठकस्थलबाट बाहिर निकालेका हुन्।

बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए। बैठकका सहभागीहरूका अनुसार संगठनभित्र देखिएको विवाद, नेतृत्वको कार्यशैली तथा संस्थापक पक्षमाथि गरिएको व्यवहारका विषयमा चर्को बहस भएपछि वातावरण तनावग्रस्त बनेको थियो। संस्थापक पक्षलाई कमजोर बनाउने र दबाबमा पार्ने प्रयास भएको आरोप लागेपछि दुवै पक्षबीच भनाभन सुरु भएको बताइएको छ।

विवाद बढ्दै जाँदा बैठकस्थलमा उपस्थित केही कार्यकर्ताहरू आक्रोशित बनेका थिए। उनीहरूले सांसदहरूमाथि नाराबाजी गर्दै धक्का दिँदै बैठकस्थलबाट बाहिर जान बाध्य पारेका थिए। स्थिति थप जटिल बन्न सक्ने संकेत देखिएपछि तत्काल प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले हस्तक्षेप गरी विवादलाई नियन्त्रणमा लिँदै सम्बन्धित सांसद तथा नेताहरूलाई सुरक्षित रूपमा बैठकस्थलबाट बाहिर निकालेको जनाएको छ। घटनापछि केही समय बैठक प्रभावित भएको थियो भने सहभागीहरूबीच तीव्र आरोप–प्रत्यारोपसमेत चलेको थियो।

रास्वपा बाराका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता केही दिनअघि पार्टीले खारेज गरेको थियो। उक्त निर्णयपछि जिल्लाभित्र असन्तुष्टि बढ्दै गएको र पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिन थालेको स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्। संस्थापक पक्षले सदस्यता खारेजीको निर्णयलाई अन्यायपूर्ण र एकपक्षीय भएको आरोप लगाउँदै आएको छ।

पछिल्लो विस्तारित बैठकमा पनि स्वर्णकारको सदस्यता खारेजी, संगठन सञ्चालनको शैली, नेतृत्व चयन प्रक्रिया तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा प्रश्न उठाइएको थियो। यही विषयलाई लिएर लामो समयदेखि मौलाउँदै आएको असन्तुष्टि बैठकमा खुला रूपमा विस्फोट भएको सहभागीहरूको भनाइ छ।

घटनापछि रास्वपा बाराको आन्तरिक विवाद झन् सतहमा आएको छ। जिल्लाभित्र संगठनात्मक एकता कायम राख्ने चुनौती थपिएको विश्लेषण गरिएको छ। पार्टी नेतृत्वले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि विवाद समाधानका लागि छलफल र संवाद आवश्यक रहेको कार्यकर्ताहरूको भनाइ छ। राजनीतिक वृत्तमा भने यस घटनालाई रास्वपाभित्र बढ्दो आन्तरिक असन्तुष्टि र संगठनात्मक व्यवस्थापनको चुनौतीका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com