सबैलाई पठाउनु होला

गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्तालाई नेता रिसाए कि भनेर चिन्ता नगरी जनता किन रिसाए भन्ने विषयमा ध्यान दिन आग्रह गरेका छन्।

नेपाली कांग्रेस गोरखा जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले केन्द्रको राजनीति भन्दा जिल्लाका जनताको भावना बुझ्न र उनीहरूको विश्वास जित्न पार्टी पंक्तिलाई सुझाव दिए।

उनले पार्टीको साधारण सदस्य र मतदाताको महत्व सबैभन्दा ठूलो हुने उल्लेख गर्दै नेता व्यवस्थापनभन्दा जनताको मन जित्नु महत्वपूर्ण भएको बताए। “फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस्। पार्टीको चुनाव चिन्हमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्,” थापाले भने, “माथि केन्द्रको कुरा म मिलाउँछु, तल जिल्लाको कुरा तपाईंहरू मिलाउनुस्।”

थापाले पछिल्लो निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसक्नुमा जनताको असन्तुष्टि मुख्य कारण रहेको उल्लेख गर्दै अब जनताको विश्वास पुनः जित्नुपर्ने बताए। उनले जनताको भावना बुझेर संगठनलाई बलियो बनाउन सके कांग्रेस पुनः सशक्त रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

उनले कांग्रेसले विगतमा अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपर्ने अवस्थालाई ऐतिहासिक गल्तीको संज्ञा दिए। “कांग्रेसले अर्काको चुनाव चिन्हमा भोट हाल्नु जस्तो ऐतिहासिक गल्ती अरु केही होइन,” उनले भने।

गोरखा कांग्रेसमा आफ्नै चुनाव चिन्हमा मतदान गर्न नपाएको गुनासो रहेकाले यसपटक तालमेल नगरी चुनावमा गएको स्मरण गर्दै उनले परिणाम अपेक्षाअनुसार नभए पनि निराश हुन नहुने बताए। कांग्रेसले २०६४ र २०७४ को निर्वाचनमा पनि चुनौतीपूर्ण अवस्था भोगेको तर त्यसपछि पुनः पहिलो पार्टी बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै उनले संगठनलाई सही दिशामा अघि बढाउन आग्रह गरे।

“हामीले २०६४ को चुनाव पनि भोगेका हौँ, २०७४ को चुनाव पनि भोगेका हौँ। त्यहाँबाट संग्लिएर पहिलो पार्टी बनेका थियौँ,” थापाले भने, “अब फेरि पार्टीलाई ठीक ठाउँमा उभ्याऔँ, कांग्रेस आफैँ संग्लिएर आउँछ।”

आगामी दिनमा कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन उनले पार्टी नेतृत्व र कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com