सबैलाई पठाउनु होला

काठमाडौँ , व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान अघि बढाएको छ। विभागको अनुरोधमा अध्यागमन विभागले उनको राहदानी रोक्का गरेको हो।

सुमार्गीमाथि साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सजस्ता कर अनुकूल देशहरूमा कम्पनी स्थापना गरी प्रत्यक्ष वैदेशिक लगानीका नाममा नेपालमा ठूलो रकम भित्र्याएर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ। यस विषयमा २०७४ सालदेखि अनुसन्धान सुरु भए पनि विभिन्न कारणले प्रक्रिया अगाडि बढ्न सकेको थिएन। अहिले भने विभागले अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा विदेशबाट भित्रिएको रकमको स्रोत स्पष्ट नदेखिएको, कारोबार शंकास्पद रहेको तथा आवश्यक कागजातसमेत प्रस्तुत गर्न नसकिएको उल्लेख गरिएको थियो। नेपाल राष्ट्र बैंकले समेत केही रकम शंकास्पद ठहर गर्दै रोक्का गरेको थियो।

अनुसन्धान प्रतिवेदनअनुसार सुमार्गीसँग सम्बन्धित विदेशी कम्पनीहरूबाट अर्बौँ रुपैयाँ नेपाल भित्रिएको देखिएको छ। ती रकमको वास्तविक स्रोत, स्वामित्व र प्रयोगबारे अहिले विस्तृत अनुसन्धान भइरहेको छ।

यसअघि खोज पत्रकारिता केन्द्र र अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जालले सार्वजनिक गरेको विवरणमा पनि सुमार्गीसँग सम्बन्धित विभिन्न विदेशी कम्पनीहरूको उल्लेख गरिएको थियो। ती कम्पनीमार्फत नेपालमा भित्रिएको रकमबारे अहिले पुनः छानबिन भइरहेको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत सुमार्गीसँग सम्बन्धित कारोबारमा ठूलो परिमाणमा कर छली भएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार सेयर कारोबारको नाममा एक अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर छली भएको दाबी गरिएको थियो।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विदेशबाट भित्रिएको रकम, त्यसको स्रोत, लगानीको प्रकृति तथा सम्भावित सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com