सिरहा, २३ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव लाई १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।
आयोगका अनुसार सेवाग्राहीबाट घुस मागिएको उजुरीपछि गरिएको स्ट्रिङ अपरेसनका क्रममा मंगलबार कर्जन्हा नगरपालिका–४ बाट उनलाई पक्राउ गरिएको हो।
प्रारम्भिक जानकारीअनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठसँग सम्बन्धित काम मिलाइदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस लिएको आरोप छ।
सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगको बर्दिबास कार्यालयको टोलीले निगरानी तथा स्ट्रिङ अपरेसन सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल घटनास्थलमा मुचुल्का तयार गर्ने तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
उता डिभिजन वन कार्यालय, सिरहाका प्रमुख बेचन चौधरी ले उक्त घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै घुस लिएको विषय र परिस्थितिबारे विस्तृत विवरण भने अझै प्राप्त नभएको बताएका छन्।
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

