सबैलाई पठाउनु होला

काठमाडौं, २३ असार  देशव्यापी चासोको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले मंगलबार सबै आरोपीलाई दोषी ठहर गरेको छ। उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरू जोडिएको यस बहुचर्चित मुद्दामा न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर गर्ने फैसला सुनाएको हो। दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आगामी पेशीमा गरिने अदालतले जनाएको छ।

दोषी ठहर हुनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी तथा गोविन्द चौधरी रहेका छन्।

यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०८० साल जेठ १० गते सुरुमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो। त्यसपछि २०८१ साल वैशाख ९ गते थप पाँचजनालाई प्रतिवादी बनाउँदै अर्को मुद्दा दायर गरिएको थियो। फरार रहेका बेचन झा पक्राउ परेपछि २०८१ साल साउन २९ गते तेस्रो मुद्दा पनि दर्ता गरिएको थियो।

यस फैसलाले नेपालको न्यायिक इतिहासमा बहुचर्चित भ्रष्टाचार तथा संगठित ठगीसम्बन्धी मुद्दामध्ये एकमा महत्वपूर्ण कानुनी निष्कर्ष दिएको छ। अब दोषी ठहर भएका प्रतिवादीहरूले आगामी पेशीमा तोकिने सजायको सामना गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com