गुनासो चौतारी
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै संसदीय समितिको बैठकमा उपस्थित भई रिपोर्टिङ गर्ने अधिकार नेपाली पत्रकारले लामो संघर्षपछि स्थापित गरेको लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरेकी छन्।
समिति सभापति सुम्निमा उदासलाई लक्षित गर्दै शर्माले लेखेकी छन्, “विदेशी टेलिभिजनमा काम गर्नुभएकी सभापतिलाई यो अभ्यास थाहा छैन भने इतिहास पढे हुन्छ।” उनले संसदीय समितिहरूमा पत्रकारको पहुँच कुनै पनि अवस्थामा सुनिश्चित हुनुपर्ने भन्दै “यसमा नो इफ, नो बट” भन्ने स्पष्ट धारणा व्यक्त गरेकी छन्।
आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा पत्रकारलाई प्रवेश नदिइएपछि सञ्चार क्षेत्रबाट व्यापक आलोचना भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत तथा चीन भ्रमण, पासपोर्ट छपाइलगायतका विषयमा धारणा राखेका थिए। तर पत्रकारहरूलाई बैठक कक्षबाहिरै रोकिएको थियो।
यस विषयमा समिति सभापति सुम्निमा उदासले स्पष्टिकरण दिँदै चीन र भारतसँग सम्बन्धित विषयलाई केही भारतीय सञ्चारमाध्यमले गलत ढंगले व्याख्या गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पत्रकारलाई बैठकमा सहभागी हुन नदिएको बताएकी छन्।
यस घटनाले संसदीय पारदर्शिता, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारबारे नयाँ बहस सिर्जना गरेको छ। सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले लोकतान्त्रिक संस्थाहरू अझ बढी खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिएका छन्।

