सबैलाई पठाउनु होला

विराटनगर, साउन ७। मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधन सरकारी रहेको खुलेको छ।

आइतबार पूर्व पश्चिम राजमार्गमा बा २ झ २२२६ नम्बरको सरकारी गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे १० निवासी ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

दुर्घटना जङ्गल क्षेत्रमा भएकाले घटनापछि प्रहरीले ठक्कर दिने सवारी तत्काल पहिचान गर्न सकेको थिएन। तर घटनास्थलमा फेला परेको गाडीको अगाडिको भाइजरको टुक्रा र राजमार्गका सीसीटीभी फुटेजको विश्लेषणपछि चार दिनको अनुसन्धानमा संलग्न सवारी र चालकको पहिचान गरिएको मोरङ प्रहरीले  जानकारी दिए।

अनुसन्धानका क्रममा उक्त गाडी सुनसरीको इटहरीस्थित हेभी इक्विपमेन्ट सडक विभागको रहेको पुष्टि भएपछि प्रहरी टोली बुधबार राति विभागको कार्यालय पुगेको थियो। खानतलासीका क्रममा कार्यालय परिसरमै लुकाइराखिएको अवस्थामा दुर्घटनामा संलग्न सरकारी गाडी फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनापछि फरार रहेका चालक सिराहा सुखीपुर ८ निवासी ४४ वर्षीय राम उद्गार मण्डललाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान मुद्दा अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com