अपराध सत्य हुन सक्छ, तर प्रमाण किन भेटिँदैन?
यस्ता गुनासोहरू गुनासो चौतारीमा पटक–पटक आइरहेका छन्। अन्याय, ठगी, शोषण, धम्की, हिंसा, शक्ति दुरुपयोग र विभिन्न प्रकारका अपराधका पीडितहरू आफ्नो पीडा बोकेर आउँछन्। उनीहरूको कथा सुन्दा घटना वास्तविक लाग्छ, पीडा स्पष्ट देखिन्छ। तर जब न्यायको ढोका ढकढक्याउने समय आउँछ, एउटै प्रश्न सबैभन्दा ठूलो अवरोध बनेर उभिन्छ “प्रमाण खोइ?” यही प्रश्नले धेरै पीडितलाई न्यायबाट टाढा धकेलिरहेको छ।
आजका धेरै अपराध आवेगमा मात्र होइन, योजनाबद्ध रूपमा गरिन्छन्। अपराधीहरूले अपराध गरेपछि मात्र होइन, अपराध गर्नुअघि नै प्रमाण कसरी मेटाउने, कसरी लुकाउने, साक्षीलाई कसरी प्रभावमा पार्ने र आफूलाई कानुनी रूपमा सुरक्षित राख्ने भन्ने तयारी गरिरहेका हुन्छन्। त्यसैले धेरै घटनामा अपराधको पीडा हुन्छ, पीडित हुन्छ, तर अदालतमा प्रस्तुत गर्न सकिने प्रमाण हुँदैन।
यसको अर्थ अपराध भएको छैन भन्ने होइन। बरु यसले अपराधीको चलाखी र अनुसन्धान प्रणालीको चुनौतीलाई देखाउँछ। यदि अपराधी प्रमाण नै नरहने गरी अपराध गर्न सफल हुन्छ भने सबैभन्दा ठूलो क्षति पीडितलाई हुन्छ। उसले एकपटक अपराधको पीडा भोग्छ, दोस्रोपटक प्रमाण नपुगेको भन्दै न्यायबाट वञ्चित हुनुपर्छ।
गुनासो चौतारीमा आउने धेरै गुनासोहरूले यही यथार्थ उजागर गरेका छन्। पीडितहरूको आवाज एउटै हुन्छ हामीमाथि अन्याय भयो।” तर कानुनी प्रक्रियामा पुग्दा प्रश्न फेरि त्यही दोहोरिन्छ “प्रमाण कहाँ छ? र के छ ?
कानुन प्रमाणमा चल्छ, तर अपराधीले प्रमाण लुकाउने प्रवृत्ति बढ्दै जाँदा न्यायको बाटो झन् कठिन बन्दै गएको छ। त्यसैले अब प्रश्न केवल पीडितसँग प्रमाण माग्ने होइन, प्रमाण लुकाएर अपराध गर्ने प्रवृत्ति रोक्न राज्यका अनुसन्धान संयन्त्र कति सक्षम छन् भन्ने पनि हो।
जबसम्म सत्य पत्ता लगाउने अनुसन्धान प्रणाली बलियो हुँदैन, वैज्ञानिक प्रमाण सङ्कलन प्रभावकारी हुँदैन र प्रमाण नष्ट गर्ने अपराधीमाथि कडा कारबाही हुँदैन, तबसम्म धेरै पीडितले आफ्नो पीडा सुनाइरहनेछन्, तर न्याय भने अझै टाढै रहनेछ।
पीडितलाई परेको पीडा पनि एउटा सत्य प्रमाण हो ।

