सबैलाई पठाउनु होला

सामाजिक सद्भाव र शान्ति–सुरक्षाबारे साझा धारणा बनाउन बैठक, तर सरकारका प्रमुख जिम्मेवार नेतृत्व नै उपस्थित नभए

काठमाडौं, १३ साउन। सुनसरी घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। तर, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएका छैनन्।

सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि सरकारको चर्को आलोचना भइरहेको छ भने तराई मधेशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी छ। यही संवेदनशील विषयमा राजनीतिक सहमति र साझा सन्देश दिन बोलाइएको बैठकमा सरकारका प्रमुख जिम्मेवार नेतृत्व अनुपस्थित रहनुले विभिन्न प्रश्न उठाएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार, सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र राजनीतिक संयमता कायम गर्न साझा धारणा बनाउने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको हो।

उनले भने, “अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थाले सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गर्दै सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि सामूहिक सन्देश र अपिल आवश्यक ठानेर छलफल आयोजना गरेका हौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com