गुनासो चौतारी | कपिलवस्तु
कपिलवस्तुको महाराजगंज नगरपालिका ३ स्थित गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा साइकल मर्मत गर्दै गरेका दुई सर्वसाधारण र एक बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियाका ७० वर्षीय र्घोल्लर कुर्मी, ४५ वर्षीय विजय कुमार गुप्ता तथा स्थानीय १२ वर्षीय आनन्द कश्यप रहेका छन्।
दुर्घटनापछि तीनै जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थलमा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

