बसन्त चौधरीको भावुक स्मरण : ‘विध्वंसको आगोले संरचना जलाउन सक्छ, इतिहास र विरासत होइन’
काठमाडौं केही घर केवल घर हुँदैनन्। ती भित्ताभित्र पुस्तौँका कथा हुन्छन्, आँगनमा बाल्यकालका पदचाप हुन्छन्, कोठाहरूमा आमाबुबाको माया हुन्छ र हरेक कुनामा बितेका समयका अमिट सम्झनाहरू बाँचेका हुन्छन्।
यस्तै एउटा घर थियो । बसन्त चौधरीको पुर्ख्यौली घर।
करिब पाँच दशकअघि उनका बुबाले अत्यन्त कठिन परिस्थितिका बाबजुद भावी पुस्ताका लागि निर्माण गरेको त्यो घर एक दिन हिंसाको आगोमा जलेर खरानी भयो। घरसँगै त्यहाँ सुरक्षित रहेको परिवारको इतिहास, पुस्तकालय, सम्मानका चिनो र वर्षौँको सिर्जनात्मक साधनाका अमूल्य सामग्रीसमेत आगोको लप्कामा विलीन भए।
तर आगोले सबै कुरा जलाउन सकेन।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमा आगलागी हुनुअघिको र आगलागीपछि भग्नावशेष बनेको घरका दुई तस्बिर सार्वजनिक गर्दै आफ्नो पीडा, स्मृति र भावनालाई शब्दमा उतारेका छन्।
‘घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।’
उनका शब्दमा त्यो घर इँटा, सिमेन्ट र काठले बनेको संरचना मात्र थिएन। त्यो उनका प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो। परिवारका अनेकौँ पुस्ताको हाँसो र आँसु थियो। संस्कार, पहिचान र सिङ्गो इतिहास थियो।
आगोले घरका कोठाहरू मात्र जलाएन, पाँच दशकभन्दा लामो समयदेखि सँगालिएको उनको प्रिय पुस्तकालयसमेत खरानी बनाइदियो। साहित्यिक यात्राका क्रममा पढिएका, खोजिएका र संकलन गरिएका पुस्तकहरू मात्र होइन, उनको सिर्जनात्मक यात्राका मौन साक्षीहरू पनि त्यही आगोमा हराए।
त्यही पुस्तकालयमा उनका एकान्तका साथी थिए, सिर्जनाका स्रोत थिए र भविष्यका सपनाहरू थिए।
तर त्यो दिन ती सपनाहरू पनि धुवाँसँगै आकाशतिर उडेको चौधरीको स्मरण छ।
पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू पनि आगोबाट बच्न सकेनन्। प्रकाशनको प्रतीक्षामा रहेका कैयौँ अमूल्य पाण्डुलिपिहरू आफ्नै आँखाअगाडि अक्षर–अक्षर गर्दै जलिरहँदा उनी निरीह भएर हेर्न बाध्य भए।
वर्षौँ लगाएर लेखिएका शब्दहरू केही क्षणमै धुवाँ बने।
जीवनभर सँगालेका स्मृतिहरू केही क्षणमै खरानी बने।
तर स्मृतिभित्र बाँचेको जीवन भने खरानी भएन।
भग्नावशेषबीच उभिएको त्यो क्षणलाई सम्झँदै चौधरीले आफूले मनमनै एउटा प्रण गरेको बताएका छन् । हरेक वर्ष त्यही दिन, त्यही भूमिमा फर्किएर जलेका स्मृतिहरूलाई शब्दको तर्पण दिने।
उनले सार्वजनिक गरेका दुई तस्बिर त्यसैको साक्षी बनेका छन्।
एउटा तस्बिरमा उभिएको घर छ । जीवनले भरिएको, स्मृतिले सजिएको, इतिहास बोकेको।
अर्को तस्बिरमा उही ठाउँ छ तर घर छैन। भित्ताहरू छैनन्। पुस्तकालय छैन। ती कोठाहरू छैनन्, जहाँ पुस्तौँका कथा बाँचेका थिए।
मानिस भने उही छ।
तर उसको पछाडिको संसार फेरिएको छ।
चौधरीले लेखेका छन्, ‘अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ।’
समयले संरचना खोस्यो होला, तर स्मृति खोस्न सकेन। आगोले पुस्तक जलायो होला, तर अक्षरप्रतिको प्रेम जलाउन सकेन। भग्नावशेषले घर ढल्यो भनेर देखायो होला, तर विरासत ढलेको प्रमाण दिन सकेन।
किनकि केही कुरा आगोले जलाउन सक्दैन।
विध्वंसको आगोले घर जलाउन सक्छ, तर घरसँग जोडिएको माया जलाउन सक्दैन।
पुस्तक जलाउन सक्छ, तर ज्ञानको ज्योति निभाउन सक्दैन।
पाण्डुलिपि जलाउन सक्छ, तर सिर्जनाको चेतना मेटाउन सक्दैन।
संरचना ढाल्न सक्छ, तर इतिहास र विरासत ढाल्न सक्दैन।
बसन्त चौधरीको यो स्मरण केवल एउटा घर जलेको कथा होइन यो एउटा पुस्ताको इतिहास खरानीमा परिणत हुँदा पनि स्मृतिले कसरी आफूलाई जीवित राख्छ भन्ने मार्मिक कथा हो।
अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्।

