२९ भदौ, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको छ।

प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष तामाङलाई प्रहरीले सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो।

भदौ १० गते गएको विनाशकारी भोटेकोशी बाढीबाट किस्पाङ गाउँपालिकासहित प्रभावित क्षेत्रमा भएको क्षति तथा राहत, उद्धार र पुनःस्थापनाका विषयमा छलफल गर्न अध्यक्ष तामाङ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ,’ एसएसपी घिमिरेले भने।

प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग क्षति, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गरेका थिए। सोही छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पक्राउ परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com