५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको जानकारी दिइएको छ ।
नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको बताइएको छ । प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गर्नुभयो ।
भेटमा भएको कुराकानीको विषय नखुलेको भए पनि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वास मत दिएका थिए ।
निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका सबै नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्नु भएको छ । सोमवार सोधिएको स्पष्टीकरणको समयवधी आज समाप्त हुँदैछ ।
आज दिउँसो नै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा नेता नेपालसहितका नेताहरुलाई थप के कारबाही गर्ने भन्ने विषयमा चर्चा हुने जनाइएको छ ।

