काठमाडौं । नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेका छन् । नेपालराष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको जानकारी दिएको हो । अपरिचित व्यक्तिले फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिनु परेको हो ।
राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पार्नुभयो । अपरिचत व्यक्तिले फोन र इमेल पठाएपछि राष्ट्र बैंकले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गरेको थियो । सबै ठिक भएको गभर्नर अधिकारीले उल्लेख गर्नुभयो ।
बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाइएको छ । अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएका हुन् । यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै गभर्नर अधिकारीले यसबाट बिचलित नहुन आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की पठाएका बैकहरु निम्नानुसार रहेका छन्
- नेपाल राष्ट्र बैंक
- कुमारी बैंक
- नेपाल बैंक
- माछापुच्छ्रे बैंक
- एनएमबी बैंक
- एनआईसी एसिया बैंक
- राष्ट्रिय वाणिज्य बैंक
- सिटिजन्स इन्टरनेसनल बैंक
- बैंक अफ काठमाडौं
- नबिल बैंक
- सानिमा बैंक
- एभरेस्ट बैंक
- हिमालयन बैंक
- नेपाल इन्भेस्टमेन्ट बैंक

