सबैलाई पठाउनु होला

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो ।

घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । शव फेला परेको ‘लोकेसन’, शवको प्रकृतिलगायतका विषयलाई केन्द्रमा राख्दै प्रहरीले ‘क्राइम सिन’ का आधारमा ‘एक जनाको मात्र हत्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै हत्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शव भेटिएको छ । त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शव भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मारेको हुनसक्ने अनुमान गरिएको छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आक्रमण गरेको पाइएको छ ।

घटनालाई नजिकबाट नियालिरहेका प्रहरीका अनुसार हत्याराले सबैभन्दा पहिले तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुरको शव भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चिच्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।

हत्यारा बाटोमा कुरेर बसेको वा खोल्सीमा जम्काभेट हुँदा तेजबहादुरमाथि आक्रमण भएको हुनसक्ने प्रहरीले बताएको छ । जब तेजबहादुरमाथि आक्रमण भयो, त्यसपछि उनी चिच्याएको र चिच्याएपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थलतर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तेजबहादुरमाथि आक्रमण गरिरहेको अवस्थामा हत्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आक्रमण गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । कमला र रञ्जनालाई पनि आक्रमण गरेपछि उनीहरु पनि कराएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रहरीको अनुमान छ ।

हत्यारालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि लखेटी लखेटी हत्या गरेको हुनसक्ने ‘क्राइम सिन’ले बताएको प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।

तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घटनाबारे पार्वतीले पनि थाहा पाएको हुनसक्ने भन्दै उनको पनि घरमै गएर हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान नसुन्ने र सुतिरहेका कारण घटनाबारे थाहा नपाएको भन्दै हत्याराले उनलाई भने केही नगरेको हुन सक्ने प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com