कार्तिक २५ गोरखा, बारपाक सुलिकोट गाउँपालिका कर्मचारी माथि कुटपिट भएको छ । बुधबार राती गोरखा सदरमुकामको पेट्रोल पम्ममा तेल भर्दै गरेका बेला गाडीमा सवार चार जनालाई अज्ञात युवाहरुको समूहले कर्मचारी र चालक माथि आक्रमण गरेको बारपाकसुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पनेरुले बताए । गाउँपालिकाले भाडाामा लिएको ग १ ज ६४४६ नम्बरको जीप तोडफोड भएको छ ।
‘गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको गाडीमा कर्मचारी साथीहरु पनि चढेका थिए, राती ९ बजे तिर पेट्रोल पम्पमा तेल हाल्दै गर्दा एक्कासी कुटपिट भएछ’ प्रशासकीय अधिकृत पनेरुले भने । दुई वटा मोटरसाइकलमा आएका ४/५ जनाको समूहले आक्रमण गरेको उनले बताए । कुटपिट बाट जीपमा सवार गाउँपालिका पशु सेवा शाखाका अधिकृत अमृत पोखरेल, कृषि शाखाका विनोद विश्वकर्मा, पशु शाखाका कर्मचारी कसम भट्ट र चालक विष्णु थापा घाइते भएका छन् ।
उनका अनुसार पोखरेल, विश्वकमा र थापा थप उपचारका लागि बुधबार राती नैै गोरखा अस्पतालबाट भरतपुर अस्पताल लगिएको छ ।
गाउँपालिकाका कर्मचारीले कुखुराको चल्ला वितरण गर्न ल्याउदै गर्दा नचिन्ने युवा समूहले आक्रमण गरेको थियो ।
घटनाका संलग्नलाई कारवाहीका लागि गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय उजुरी दिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले गोरखाका डिएसपी प्रकाश दाहालले घटनाको छानविन भइरहेको बताए ।

