काठमाडौं –   पर्यटन मन्त्रालयको निम्तोमा नेपाल भ्रमणमा आइपुगेका टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले आफ्नो आगामी फिल्मलाई नेपालमा छायांकन गर्ने भएका छन् ।

बिहीबार बेलुका स्वदेश फर्कनुअघि पर्यटनमन्त्री प्रेम आलेले आयोजना गरेको स्वागत समारोहमा उनले आफू नेपाली आतिथ्यता र प्राकृतिक सौन्दर्यबाट मोहित भएको बताएका हुन  ।

टर्कीका व्यवसायी र फिल्म निर्माताको समूहसँग आइपुगेका ‘बाराबारोस’ फेम्ड अभिनेता दुज्याटनले पाँच दिन नेपालमा बिताएका थिए  । पर्यटकीय नगरी पोखरा र त्यहाँको सौन्दर्य नियालेका उनले आफू नेपाली तालतलैया, हिमाल र पहाडबाट प्रभावित भएको समेत बताएका हुन  ।

‘नेपाल र नेपाली निकै रोचक छन् । मेरो आगामी फिल्मलाई नेपालमै छायांकन गर्ने योजना सुनाउँदा निकै खुसी लागेको छ । म यसको लागि पर्यटन मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

सन् २०२३ को जुनमा नेपालमा फिल्म सुटिङ गर्ने जानकारी उनले दिएका छन्  । आफ्नो पहिलो नेपाल भ्रमण भए पनि अन्तिम नहुने भन्दै उनले आफू पुनः नेपाल आउने तयारीमा रहेको बताएका छन्  ।

अभिनेता दुज्याटनसहितको टर्किस टोलीलाई स्वागत गर्दै पर्यटनमन्त्री आलेले फिल्म छायांकनलाई पूर्णरुपमा सघाउन सरकार तयार रहेको बताएको हो  । दुज्याटनको नेपाल भ्रमणले टर्कीमा नेपालको पर्यटनको प्रचारप्रसार हुने र दुई मुलुकबीच प्रगाढ सम्बन्ध बिस्तार हुने मन्त्री आलेले बताएको छ  ।

अभिनेता दुज्याटन, टर्किस बिजनेस काउन्सिलका प्रतिनिधि मुस्तफा लगायतलाई ढाकाटोपी लगाइदिंदै मन्त्री आलेले स्वागत गरेका  छन्  ।

पर्यटन सचिव महेश्वर न्यौपानेले दुज्याटनको नेपाल आगमनले मुलुकको पर्यटन प्रबद्र्धनमा फाइदा पुग्ने बताएका छन्  । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा समेत दुज्याटनका फ्यान फलोइङ धेरै देख्दा आफू उत्साहित भएको बताइन् ।

दुज्यानको नेपाल आगमन फिल्म उद्योगलाई मात्र नभएर नागरिक–नागरिक सम्बन्ध स्थापना गर्ने अर्थपूर्ण भ्रमण भएको भएको राणाले बताइन् । पर्यटन मात्र नभएर निजी क्षेत्रले अन्तर्राष्ट्रिय तहमा एग्रो क्षेत्रमा लगानी गरेको बताउँदै राणाले नेपाललाई फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्न मन्त्री आलेलाई आग्रह गरिन् ।

मन्त्रालय अन्तर्गतको टुरिजम रिभाइभल कमिटी संयोजक राजाराम गिरीले कोरोनाले प्रभावित नेपालको पर्यटनलाई उकास्न अन्तर्राष्ट्रिय सेलिब्रिटी र व्यक्तित्वलाई नेपालमा निम्तो गर्न लागिएको बताएक छन्  ।

अभिनेता दुज्याटनको आगमनले नेपालको पर्यटन प्रवर्द्धन हुने आशा गिरीले व्यक्त गरेका हुन  । आगामी सेप्टेम्बरमा मन्त्रालयले पर्यटन सम्मेलन गर्न लागेको र त्यसमा विदेशी सेलिब्रिटी तथा नेपालमा बढी पर्यटक आउने मुलुकका पर्यटनमन्त्रीलाई समेत निम्तो दिइने कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com