सबैलाई पठाउनु होला

मकवानपुर –    मकवानपुरको कैलाश गाउँपालिका ३ का रामसिं तामाङको घरमा दुई पार्टीका उम्मेदवार आएर भोट मागिसकेका छन् । तर, उनले अझै कस्लाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन् । जनप्रतिनिधि आएपछि गाउँघरको विकास भएको उनलाई अनूभुति छ ।

‘अघिल्लो पटक भोट दिए, नेताहरुले गाउँमा बाटो ल्याए,’ उनले भने, ‘नेता छानेपछि मात्र विकास हुनेरैछ, यो पटक कस्लाई दिने भनेर बुज्दैछु ।’ उनीजस्तै धेरै स्वतन्त्र मतदाता गाउँको नेतृत्व चयनको लागि राम्रा उम्मेदवारको खोजीमा छन् ।

उनीहरु क्षमता र योग्यताले पूर्ण भएका व्यक्तिहरुलाई उम्मेदवारका रुपमा खोजिरहेका छन् ।  स्थानीय चुनावमा योग्य, सक्षम, जनताका हरेक सुख, दुःखमा साथ दिइरहने उम्मेदवार खोजिरहेको हेटौंडा–१६ का शिव उप्रेती बताउँछन् ।

‘आगामी निर्वाचनमा जनताको हरेक समस्या बुझ्ने र वृद्धवृद्धाहरूको घरघरमा सेवा दिन सक्ने व्यवहारिक उम्मेदवारको खोजि गरिरहेका छौं,’ उनले भने, ‘सामाजिक क्षेत्रमा राम्रो छवी बनाएको र जो लामो समयदेखि सामाजिक काममा पनि सक्रिय भूमिकामा रहेर जनताको सेवा तथा विकासको काम गर्नसक्ने उम्मेदवार हामीले चाहेका छौं ।’

भ्यु टावर बनाउने, बाटो ढलान मात्र गर्ने भन्दा पनि उत्पादनका क्षेत्रमा मात्र काम गर्ने जनप्रतनिधि आवश्यक रहेको उनले बताएको छ  ।  आगामी निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरुले समृद्ध स्थानीय तहको निर्माणको लागि युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने हेटौंडा–१ का रमेश सुवेदीको भनाइ रहेको  छ ।

आगामी निर्वाचनमा उम्मेदवारहरूले पुरानै ढर्रामा खानेपानी, बिजुली, बाटो, सिंचाइ, खानेपानी भन्दै एजेण्डा बनाइरहेको मनहरी गाउँपालिकाका सुरेश तामाङले बताएका छन्  ।

उनले उम्मेदवारहरुले जग्गा प्लटिङ रोक्ने, कृषिलाई प्राथमिकता दिने र किसानलाई सहुलियत तथा कृषिमा लाग्न प्रेरित गर्ने जस्ता योजनाहरु ल्याएर उद्यमशिलता विकासका काममा लाग्नु पर्ने बताएको छ  ।

‘युवाहरूलाई नागरिकलाई आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्ने जनप्रतिनिधि भएन भने देशको अवस्था भयावह हुनसक्छ । हालसम्म स्थानीय तहमा उम्मेदवार बनेकाहरुसँग सो प्रकृतिको यस्तो कार्यक्रम देखिएको छैन,’उनले भने, ‘जनताले शिक्षा, स्वास्थ्य र यातायातमा सहज पहुँच, विपन्न तथा गरिब वर्गहरुको लागि हरेक सेवामा छुट गर्ने तथा राजश्व दर कम गरी सेवाप्रवाहलाई समय सापेक्ष विकास गर्दै  जानुपर्ने देखिन्छ ।’

विगतमा निर्वाचित जनप्रतिनिधिहरुले ल्याएका योजनाहरु त्यो उनीहरुको परिकल्पना नभइ जनताको आवश्यकता र मागको आधारमा निर्धारण गरिएको मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताएको छ  । उनले विगतमा सुरु गरिएका अधुरा योजनाहरुलाई पुरा गर्न निरन्तरता दिने र स्थानीय तहले नयाँ फड्को मार्नको निमित्त रोजगारि सृजनाको कामहरु आगामी निर्वाचनबाट चुनिने नेतृत्वले गर्नुपर्ने बताएको छ  ।

‘वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु पनि स्थानीय तहमा नै फर्किएर आफ्नो सिप क्षमता अनुसारको काम गर्न प्ररित भएको देखिएको छ । उनीहरुलाई सुहाउँदो प्रकृतिको वातावरण मिलाउनु पर्छ,’ उनले भने, ‘विगतमा खानेपानी, सडक, पुल, भवन जस्ता पूर्वाधार निर्माणका काममा केन्द्रीत हुनपर्ने अवस्थाले गर्दा रोजगारी सृजनाको काम पछि पर्‍यो ।

आगामी दिनमा तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारिमा जोड्न घरेलु उद्योगहरुको स्थापना गरी उत्पादनमा केन्द्रीत हुनुपर्छ ।’

स्थानीय निर्वाचनमा खटिने उम्मेदवारले जनताको लागि काम गर्ने भएकाले पार्टीमा भन्दा फरक ढंगबाट जनप्रतिनिधि जनताको काममा सक्रिय हुनुपने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ  रहेको छ ।

विष्टले जनताको मागहरु सम्बोधन गर्नु दलहरुको एजेण्डा हुनुपर्छ भनिएपनि अहिले जनताको माग सम्बोधनको रणनीतिभन्दा पनि हाम्रो पार्टीले जित्नुपर्छ भन्ने रणनीति पार्टीमा हावी भएको देखिएको बताए ।

‘आफ्ना उमेदवारलाई भोट दिएर जिताउनु पर्ने मात्रै रणनीति छ,’उनले भने, ‘अहिले पार्टीहरु भड्किलो चुनावी अभियानतर्फ लागेको छ । यसको सुधार गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वीकार गरेर  एकजुट भएर अघिढ्नु नै वर्तमान परिस्थितिको माग हो । यसबाट राम्रो नजिताको अपेक्षा गर्न सकिन्छ ।’

स्थानीय निर्वाचनमा खटिने उम्मेदवारले जनताको लागि काम गर्ने भएकाले पार्टीमा भन्दा फरक ढंगबाट जनप्रतिनिधि जनताको काममा सक्रिय हुनुपने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ रहेको  छ ।

उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिले सरकारको बजेटलाई ठिक ढंगबाट कार्यान्वयन गराउने जिम्मेवारी पाएको हुन्छ भने पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुले नीति निर्माण गरेर स्थानीय तहका जनप्रतिनिधिहरुलाई सधाउ पुर्‍याउने काम गर्नुपर्छ । पार्टीले पनि जनताको हक, अधिकार, सुविधा र विकासका लागि काम गर्न सोही अनुसारको एजेण्डा बोक्नु पर्छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com