काठमाडौँ । काठमाडौँमा प्रहरी बनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका ३७ वर्षीय बाबु लामा र दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले काठमाडौँका विभिन्न औषधि पसलमा गई आफूहरू लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी हौँ भन्दै पसलको खानतलासी गर्ने तथा धम्क्याउने गरेका थिए।
पक्राउ परेका दुवै जनामाथि ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

