काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार (पुस २५)देखि मतपत्र छपाइको काम थालिएको हो।
आयोगले माघ ९ गतेभित्र समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रवक्ता भट्टराईले माघ १० गतेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिने जानकारी दिए।
उनका अनुसार माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन हुने र दाबी–विरोधको प्रक्रिया पूरा गरी माघ ९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। निर्वाचन चिह्न प्रदान भइसकेपछि प्रत्यक्षतर्फको मतपत्रको डिजाइन प्राप्त हुने र त्यसपछि छपाइ प्रक्रिया सुरु हुने उनले बताए।
प्रवक्ता भट्टराईले समानुपातिकतर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिह्न समावेश रहेको जानकारी पनि दिए। समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ दलमध्ये ५८ वटा दलका निर्वाचन चिह्न मतपत्रमा समेटिएको उनले स्पष्ट पारे।
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची ६४ दलले बुझाइसकेका छन्। यसैबीच आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने मिति पनि छिट्टै तय गर्ने जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार आचारसंहिता लागू हुने गरी आवश्यक तयारी भइरहेको छ।

