सबैलाई पठाउनु होला

२७ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। बिहान ८ बजेदेखि दर्ता गर्ने तयारी भए पनि केही ढिलाइपछि प्रक्रिया सुरु गरिएको हो।

महाधिवेशन स्थलको मूल गेट नजिकै राखिएको स्टलबाट प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ। नाम दर्ताका लागि परिचय खुल्ने आधिकारिक कागजात र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

हाल कार्यक्रम स्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रम जारी रहेको छ। विशेष महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तयारी गरिएको छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ।

विशेष महाधिवेशनको उद्घाटन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ। उद्घाटन समारोहपछि आजै बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व पार्टीका जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ।

पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका थिए। सोही मागका आधारमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यद्यपि, संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com