बाँझिँदै खेत, रित्तिँदै गाउँ : राजनीतिक असफलताले थिचिएको देश
हजुरबाकी पौरख र पसिनाले उब्जाएको खेत, बाबुको पालासम्म आइपुग्दा हरियो थियो। तर आज छोराको पालामा ती खेतहरू बाँझिँदै गएका छन्। यो केवल एउटा परिवारको कथा होइन, यो आजको नेपालको प्रतिनिधि तस्वीर हो।
राजनीतिक अराजकता, दीर्घकालीन अस्थिरता र कमजोर नीति निर्माणको प्रत्यक्ष असर गाउँ–गाउँमा देखिन थालेको छ। खेतबारी बाँझिँदै छन्, घरघरमा ताला झुन्डिँदै छन्। जहाँ मान्छे छन्, त्यहाँ वृद्ध आमाबुबा मात्र बाँकी छन्। उत्पादन गर्ने उमेरका युवाहरू गाउँ छोड्न बाध्य छन्।

राजनीतिक दलका नेताहरू गाउँ पुगेर झुटा आश्वासन बाँड्न अझै थाकेका छैनन्। कृषि क्रान्तिका भाषण रोकिएका छैनन्, युवा रोजगारीका नारा फेरिएका छैनन्। तर यथार्थ भने जस्ताको तस्तै छ।
उत्पादन घट्दै छ, आयात बढ्दै छ।
किसान निराश छन्, युवा बेरोजगार छन्।

बेरोजगारी जिउकै त्यउँछ। त्यसैले युवाहरू बाध्य भएर विदेशी भूमिमा पसिना बगाइरहेका छन्। गाउँमा बसेर खेती गर्ने, किसान बन्ने, उत्पादनमा लाग्ने वातावरण राज्यले सिर्जना गर्न सकेको छैन। खेत जोतिरहेका किसानहरू समेत पासपोर्ट बनाएर विदेश जाने तरखरमा छन्। यो भन्दा ठूलो राज्य असफलताको प्रमाण अरू के हुन सक्छ?

सहरमा बस्ने, जान्ने–बुझ्ने, पढेलेखेका, राजनीति बुझेका वर्गहरू पनि क्रमशः स्वार्थको रोटी सिक्दैछन्। यिनीहरू भाषण र कुरा निकै मीठा गर्छन्। तर व्यवहारमा सबै आफ्नो स्वार्थ पूरा गर्छन् । राष्ट्र निर्माणभन्दा व्यक्तिगत सुरक्षित भविष्य प्राथमिकतामा परेको देखिन्छ।
यसैबीच, भदौ २३ र २४ गते देशले भोगेको भयावह त्रासदी अझै ताजा छ। सारा देश जलेर खरानी भयो। ७६ जना बालबालिकाले ज्यान गुमाए। यति ठूलो दुर्घटनाले पनि परिवर्तनको स्पष्ट दिशा देखाउन सकेन। न त राज्य संयन्त्र सुध्रियो, न त राजनीतिक शैली फेरियो। देश फेरि पुरानै लयमा अगाडि बढिरहेको छ। जहाँ अर्को दुर्घटनाको खतरा झन् बढ्दो छ।

हिजो एकात्मक राज्य व्यवस्थाको विरोध गर्दै संघीयता आयो। तर संघीयतापछि पनि जनताको घरदैलोमा विकास पुग्न सकेको छैन। कतै पुगेको छ भने त्यो पहुँचवालाका घरमा मात्र पुगेको छ। सर्वहारा, गरिब, उत्पीडितका नाममा धेरै भाषण भए, धेरै नारा लागे। तर उनीहरूको जीवनमा ठोस परिवर्तन देखिएन।
यहीँ प्रश्न उब्जिन्छ ।
राजनीति आफ्ना लागि हो कि समाजका लागि?
राजनीति समस्या समाधानका लागि हो कि समस्या थप्नका लागि?
दल र नेताहरूको भविष्य बदलिँदा जनताको भविष्य किन बदलिन सकेन?
यी प्रश्नहरूको उत्तर अब राजधानीका बैठक कक्षमा होइन, गाउँका चौतारामा खोजिनुपर्छ। अब आम गाउँवासी सचेत हुनैपर्छ। झुटा आश्वासन, खोक्रा नारा र भाषणको राजनीति अस्वीकार गर्नैपर्छ। उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनको प्रश्नलाई केन्द्रमा राखेर नयाँ राजनीतिक दबाब सिर्जना गर्नैपर्छ।
यदि आज पनि हामी चुप लाग्यौं भने, भोलि बाँझो खेत मात्र होइन।
देशको भविष्य नै बाँझिने खतरा स्पष्ट देखिँदै छ।

