काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनपछि मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने बताएका छन्।
मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्दसत्रमा बोल्दै शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा थापालाई प्रस्तुत गर्ने पार्टीको तयारी रहेको बताए।
उनले भने, “कांग्रेस नयाँ ऊर्जा लिएर आउँदैछ। पार्टी बदलिएर, बलियो नेतृत्व र स्पष्ट दृष्टिकोणसहित अघि बढ्दैछ। फागुन २१ गते लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा गर्ने गरी नेपाली कांग्रेस मैदानमा उत्रिँदैछ, र पार्टीको नेतृत्व तथा मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघि सार्दैछौँ।”
यसैबीच, विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्ताको समय परिमार्जन गरेको छ। समितिद्वारा जारी सूचनाअनुसार मनोनयन दर्ता गर्ने समय साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म तोकिएको छ। यसअघि मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्धारण गरिएको थियो।
हाल मनोनयनका लागि फाराम वितरणको काम जारी रहेको निर्वाचन समितिले जनाएको छ।
सोमबार सम्पन्न बन्दसत्रले ध्वनि मतका आधारमा कार्यविधि पारित गरेसँगै नयाँ केन्द्रीय समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। साबिकको विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्रीसहित सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।
विधानअनुसार सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायबाट आठ जना चयन हुने व्यवस्था छ। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
पदाधिकारीमध्ये कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचनमार्फत चयन गर्ने विधानको व्यवस्था रहेको छ।

