काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे । तर, उनीमाथि लगाइएको अभियोगबारे भने प्रहरीले औपचारिक जानकारी दिएको छैन।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए । प्रहरीले उनलाई माघ ५ गते पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । त्यसपछि माघ ६ गते हाजिर जमानीमा उनी रिहा भएका थिए।
यसपटकको पक्राउको कारणका रूपमा प्रसाईंले दिएको एक सार्वजनिक अभिव्यक्तिलाई जोडिएको छ । उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर पार्टीको आधिकारिकता लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए।
उक्त अभिव्यक्तिलाई गम्भीर भन्दै निर्वाचन आयोगले त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । सोही विषयमा अनुसन्धान अगाडि बढाउने क्रममा उनलाई पक्राउ गरिएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।
प्रसाईंमाथि थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

