१० फागुन, काठमाडौं। राजधानी नजिकैको तारकेश्वर नगरपालिका–९ मा आइतबार साँझ चितुवा घरभित्रै पसेर दुई जनामाथि आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार, स्थानीय अनोजमणी अधिकारीको घरमा एक्कासि चितुवा पसेको हो। आक्रमणमा परेर दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन्।
घाइते महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ। महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल मा उपचारका लागि लगिएको छ।
प्रहरीका अनुसार, हाल चितुवालाई घरभित्रै थुनेर राखिएको छ। वन कार्यालयको टोली घटनास्थलतर्फ खटिएको छ र नियन्त्रणको प्रयास जारी छ।
अचानक भएको यस घटनाले शान्त बस्तीमा त्रास फैलाएको छ।

