गोडैता, सर्लाही।
सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणले नयाँ मोड लिएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्ने व्यक्ति महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो हुन्। उनलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत फागुन ३ गते सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि उनकै कोठामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई झन् संवेदनशील बनाएको छ। अनुसन्धानका क्रममा महतोले भारतीय ‘सुटर’ प्रयोग गरी हत्या गराएको हुनसक्ने आशंका गरिएको छ। अझ चकित पार्ने तथ्य के भने, मृतक यादव र पक्राउ परेका महतो दुवै लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ।
सरकारी सेवाको नियुक्ति प्रक्रियासँग जोडिएको विषय नै घटनाको कारण हुनसक्ने अनुमान गर्दै प्रहरीले सोही कोणबाट अनुसन्धान तीव्र बनाएको जनाएको छ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको छ। घटनाको विस्तृत विवरण आज दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिस्पर्धाको मैदानबाट सुरु भएको द्वन्द्व गोलीको आवाजमा टुंगिएको यो घटनाले सरकारी सेवा र सुरक्षाको सवालमा गम्भीर प्रश्न खडा गरेको छ। अब सबैको नजर प्रहरी अनुसन्धानको निष्कर्षतर्फ केन्द्रित छ।

