सबैलाई पठाउनु होला

नवलपरासी,आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का युवा मतदातामा उत्साह, जिज्ञासा र जिम्मेवारीबोध एकैसाथ देखिएको छ । यसपटक नयाँ पुस्ता दर्शक मात्र नभई निर्णय प्रक्रियाको सक्रिय सहभागी बन्ने तयारीमा जुटेको छ । पहिले निर्वाचनलाई परिवारका अग्रजहरूको काम ठान्ने युवाहरू अहिले भने आफ्नो मताधिकारप्रति सचेत देखिन्छन् । सामाजिक सञ्जाल, बहस छलफल तथा विद्यालयक्याम्पसस्तरीय संवादमार्फत उनीहरू संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नयाँ मतदाताहरूले आफ्नो पहिलो मत व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भविष्य निर्माणका आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूको प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगरले पहिलोपटक मतदान गर्न पाउँदा निकै उत्साहित भएको बताउँदै दुर्गम गाउँका समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवार रोज्ने बताए । कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ” भन्दै आफ्नो जिम्मेवारीबोध प्रकट गरिन् । बुलिङटार गाउँपालिका–३ का सुमन थापाले भाषणभन्दा काम चाहिएको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई समर्थन गर्ने धारणा व्यक्त गरे ।

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पहिलो मतदातालाई लक्षित गरी मतदाता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्, जसले युवामा आत्मविश्वास र राजनीतिक समझ बढाएको छ । सामाजिक सञ्जालमा ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने सन्देश फैलाउँदै युवाहरू जिम्मेवार मतदानका लागि प्रेरित गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार यसपटक ९ हजार २३७ नयाँ मतदाता थपिएका छन् । जसमध्ये ३ हजार १५३ जनाले सिधैँ कार्यालयबाट नाम दर्ता गरेका छन् भने ६ हजार ८४ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको संख्या २ लाख ६८ हजार ५२६ पुगेको छ । फागुन २१ को निर्वाचन युवाहरूका लागि केवल मतदानको दिन मात्र नभई लोकतान्त्रिक सहभागिताको महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com