नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा चुनावी माहोल तताउने तयारी गरेको छ । पार्टीले उपत्यकाका ६ स्थानमा एकसाथ चुनावी सभा आयोजना गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरेको हो । सभाहरूमा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।
दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने सभाबाट चुनावी अभियानको सुरुवात हुनेछ, जहाँ सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । त्यसपछि दिउँसो २ बजे भक्तपुरको ठिमीमा उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, काठमाडौं–२ को पेप्सीकोला टाउन प्लानिङमा हुने सभामा पनि शर्माले नै सम्बोधन गर्नेछन् ।
दिउँसो ३ बजे काठमाडौं–७ को बालाजुमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसे सहभागी हुनेछन् । यसैबीच दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा आयोजना हुनेछ भने दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा पनि सभा गर्ने कार्यक्रम तय गरिएको छ ।
उपत्यकाका विभिन्न स्थानमा आयोजना गरिएका यी सभामार्फत नेपाली कांग्रेसले आफ्नो चुनावी एजेन्डा, विकासका योजना र राजनीतिक दृष्टिकोण मतदातासामु राख्दै व्यापक जनसमर्थन जुटाउने रणनीति अघि सारेको छ ।

