सबैलाई पठाउनु होला

अबुधाबी – संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। आइतबार भएको उक्त आक्रमणको पुष्टि यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै Gulf News ले गरेको हो।

मन्त्रालयका अनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ वटा ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ वटा ड्रोनको सामना गरेको छ। आक्रमणको दोस्रो बिहान आइतबार मात्र २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाइएको छ, जसमा आठवटा समुद्रमा खसेका थिए।

त्यस्तै, दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी गरिएको छ। २१ वटा ड्रोन भने नागरिक बस्ती क्षेत्रमा खसेका थिए। मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएका छन् भने १३ समुद्रमा खसेका छन्। ५४१ ड्रोनमध्ये ५०६ अवरोध गरी नष्ट गरिएको र ३५ वटा बस्ती क्षेत्रमा खस्दा भौतिक क्षति पुगेको उल्लेख गरिएको छ।

घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको जनाइएको छ, तर उनीहरूको नाम र अन्य विवरण सार्वजनिक गरिएको छैन।

घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन अवरोध गर्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, विदेशी बासिन्दा तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। साथै, सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com