काठमाडौँ। अस्थिर राजनीति, स्वार्थलाभको दौड, शक्तिको खेल र सत्ताको उन्मादले देशलाई पटक–पटक द्वन्द र ध्वंसतर्फ धकेल्दै आएको यथार्थ फेरि सतहमा देखिन थालेको छ। विगतका राजनीतिक घटनाक्रमले स्पष्ट पारेको छ । जब नेतृत्व जिम्मेवार र संयमित बन्न असफल हुन्छ, तब राष्ट्रले महँगो मूल्य चुकाउनुपर्छ।
नेपालको इतिहास साक्षी छ, राजनीतिक अहंकार, दम्भ र घमण्डले कहिल्यै दिगो समाधान दिएको छैन। बरु यिनै प्रवृत्तिहरूले द्वन्द निम्त्याएका छन्, सामाजिक सद्भाव खल्बल्याएका छन् र विकासका आधारहरू कमजोर बनाएका छन्। सत्ताको लोभमा गरिएका निर्णयहरू र प्रतिशोधको राजनीतिले देशलाई स्थायित्वभन्दा अस्थिरतातर्फ धकेल्ने क्रम दोहोरिँदै आएको छ।
आजको परिवेश पनि त्यही खतरनाक मोडतर्फ उन्मुख देखिन्छ। राजनीतिक दलहरूबीचको अविश्वास, शक्ति केन्द्रित रणनीति र स्वार्थअनुकूल गठबन्धनहरूले राष्ट्रिय हितलाई ओझेलमा पारेका छन्। जनताको आकांक्षा, सुशासन र समृद्धिको लक्ष्यभन्दा सत्ता जोगाउने खेल हाबी हुँदा लोकतन्त्रको मर्म नै कमजोर बन्ने खतरा बढेको छ।
विशेषतः विगतका द्वन्दका घाउ अझै पूर्ण रूपमा निको नहुँदै पुनः उस्तै प्रकृतिका गतिविधिहरू देखा पर्नु चिन्ताजनक छ। इतिहासबाट पाठ सिक्न नसक्ने प्रवृत्तिले फेरि त्यही गल्ती दोहोरिने संकेत गर्छ। यस्तो अवस्थामा राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्दै संयमता, उत्तरदायित्व र दूरदर्शिता प्रदर्शन गर्नु अपरिहार्य देखिन्छ।
देशलाई द्वन्दतर्फ लैजाने छुट कसैलाई छैन । न सत्तामा रहेका शक्तिलाई, न विपक्षमा बसेका दलहरूलाई। लोकतन्त्रको रक्षा, राष्ट्रिय एकता र स्थायित्व कायम राख्ने दायित्व सबैको साझा हो। यदि राजनीतिक स्वार्थले राष्ट्रिय हितमाथि हाबी हुने क्रम रोकिएन भने त्यसको परिणाम समग्र राष्ट्रले व्यहोर्नुपर्नेछ।
आजको आवश्यकता स्पष्ट छ । संवाद, सहमति र सहकार्यको राजनीति। सत्ता होइन, राष्ट्र पहिलो भन्ने मान्यता व्यवहारमा उतार्ने समय आएको छ। विगतका त्रुटिबाट पाठ सिक्दै, भविष्यप्रति जिम्मेवार बन्दै अघि बढ्नु नै देशलाई द्वन्द र ध्वंसबाट जोगाउने एकमात्र विकल्प हो।

