काठमाडौँ । पुर्पक्षका लागि कारागारमा रहेका बन्दीलाई छुटाइदिने नाममा ‘अदालत सेटिङ’ को प्रलोभन देखाई ठगी गरेको आरोपमा पति–पत्नी पक्राउ परेका छन्।
जेन्जी आन्दोलन का क्रममा कारागारबाट भागेका तीनजना कैदीलाई लक्षित गरी उनीहरूले ठगी गरेको खुलेको छ। मण्डिखाटारस्थित हलेसी महादेव मार्ग क्षेत्रमा बसोबास गर्ने ४५ वर्षीय हरिबहादुर थापा मगरले आफूले सर्वोच्च अदालत का न्यायाधीशसँग चिनजान रहेको दाबी गर्दै धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए।
धरौटी रकम र वकिलको बहस खर्च भन्दै उनकी ३७ वर्षीया श्रीमती मिठु मगर (अनिता थापा मगर) को बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गराइएको थियो। तर, रकम लिएअनुसार काम नभएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानले अदालतको नाम जोडेर ठगी गर्ने यस्ता घटना अझै पनि भइरहने गरेको देखाएको छ, जसले न्याय प्रणालीप्रति आम नागरिकको विश्वासमा गम्भीर असर पार्ने देखिन्छ।

