सबैलाई पठाउनु होला

२२ चैत, काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। एसएसपी रमेश थापाका अनुसार गुरुङमाथि पुनः गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा कारबाही अघि बढाइएको छ।

गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका व्यक्ति हुन्। २०८० असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हत्कडीसहित सार्वजनिक रूपमा ठमेल क्षेत्रमा घुमाएको थियो। त्यतिबेला ‘गुण्डागर्दी नियन्त्रण’ का लागि चेतावनी स्वरूप यस्तो कदम चालिएको बताइएको थियो। पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

त्यसयता पनि उनी कुटपिट, असुली र झगडासम्बन्धी घटनामा संलग्न हुँदै पक्राउ पर्ने र छुट्ने क्रम दोहोरिँदै आएको प्रहरीले जनाएको छ।

प्रहरी रेकर्ड अनुसार गुरुङ कुनै समय कुख्यात गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए। २०७२ भदौ ३ गते प्रहरी मुठभेडमा घैंटे मारिएपछि गुरुङ ‘बुलेटप्रुफ ज्याकेट’ लगाएर हिँड्ने गरेको खुलेको थियो। सोही वर्ष पुस २५ गते उनलाई नुवाकोटबाट अवैध २८ बोर रिभल्बर र गोलीसहित पक्राउ गरिएको थियो।

त्यसअघि २०६७ कात्तिक ७ मा गोंगबुस्थित गणेशस्थान नजिक मिलन लामामाथि धारिलो हतियार प्रहार गरेको घटनामा पनि उनको संलग्नता देखिएको थियो। २०७६ मा बैंकिङ कसूर मुद्दा, २०७७ कात्तिक २६ मा पेस्तोल देखाएर कुटपिट गरेको आरोप, तथा २०८२ साउनमा ठमेलको एक दोहोरी साँझमा झगडा गरेको घटनामा समेत उनी पक्राउ परिसकेका थिए।

प्रहरीका अनुसार गुरुङविरुद्धका आपराधिक गतिविधिहरू दोहोरिँदै आएकाले यसपटक थप कडा कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com