काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख कसलाई दिने भन्ने विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मतभेद देखिएको छ। पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह बीच यस विषयमा धारणा नमिलेको स्रोतहरूले जनाएका छन्।
आइतबार बिहान भएको छलफलमा प्रधानमन्त्री बालेनले उपसभामुख नयाँ दललाई अवसर दिनुपर्ने भन्दै श्रम संस्कृति पार्टीको पक्षमा मत राखेका थिए। तर, सभापति रवि भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उपसभामुख दिनुपर्ने अडानमा देखिएका छन्। सहमति जुट्न नसकेपछि बेलुका पुनः छलफल हुने तयारी गरिएको बुझिएको छ।
यता, रास्वपाका उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने भएकाले उपसभामुख चयनमा दलगत सन्तुलन महत्वपूर्ण बनेको छ।
सभामुख अर्यालले भने राजनीतिक समन्वय र सम्भावित संविधान संशोधनलाई ध्यानमा राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई उपसभामुख दिनुपर्ने सुझाव दिएका थिए। तर, उक्त प्रस्तावमा रवि र बालेन दुवै सकारात्मक नदेखिएकाले नेकपाको सम्भावना कमजोर बन्दै गएको छ।
स्रोतका अनुसार शक्ति सन्तुलनका हिसाबले अब श्रम संस्कृति पार्टी र राप्रपामध्ये एक दलले उपसभामुख पाउने सम्भावना बलियो देखिएको छ।
यसबीच राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले भने रास्वपासँग औपचारिक छलफल नभएको दाबी गरेका छन्, यद्यपि उपसभामुखमा आफ्नो दलको स्वाभाविक दाबी रहने बताएका छन्।
उपसभामुख पद संवैधानिक परिषद् को सदस्य हुने भएकाले यसको राजनीतिक महत्व झनै बढेको छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहने प्रावधान छ।
यसरी, उपसभामुख चयनको विषय अहिले सत्ता गठबन्धनभित्र शक्ति सन्तुलन, दलगत भागबन्डा र भविष्यको राजनीतिक समीकरणसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा बनेको छ।

