कपिलवस्तुको महाराजगंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। महाराजगंज नगरपालिका भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गोली लागेर पेटमा गम्भीर घाइते भएका यादवको चितवन मेडिकल कलेज मा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको हो।
गत चैत ७ गते महाराजगंज वरगदा गाउँमा हिन्दु मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही घटनापछि भड्किएको भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी र स्थानीय युवाबीच पुनः झडप भएको थियो। उक्त झडपकै क्रममा सुरक्षाकर्मीको गोली लागेर यादव घाइते भएका थिए।
घटनापछि स्थानीय स्तरमा तनाव बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

