व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालत ले व्यवसायी शेखर गोल्छा लाई धरौटीमा छाड्न आदेश दिएको छ।सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई अनुसन्धानका लागि सिधै हिरासतमा राख्ने पूर्व आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले कानुनी प्रक्रिया उल्लंघन भएको ठहर गरेको छ। आदेशमा उल्लेख गरिएअनुसार अनुसन्धान निकायले पहिले धरौटी वा जमानत माग नगरी हिरासतमा राख्न अनुमति लिएको देखिएकाले उक्त निर्णय कानुनसम्मत नभएको निष्कर्ष निकालिएको हो।यसअघि केन्द्रीय अनुसन्धान ब्युरो ले जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरी गोल्छालाई हिरासतमा राखेको थियो। तर सर्वोच्चले उक्त आदेशलाई उत्प्रेषणमार्फत बदर गरेको छ।
अदालतले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०४ को व्यवस्था उल्लेख गर्दै धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान गर्दा पहिलो चरणमा धरौटी वा जमानत माग्नुपर्ने स्पष्ट पारेको छ।सर्वोच्चले गोल्छा फरार हुने अवस्था नरहेको ठहर गर्दै धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राख्न पाइने आदेश दिएको हो।
अब गोल्छाले धरौटी बुझाएमा उनी बाहिरै बसेर अनुसन्धान सामना गर्न पाउनेछन् भने धरौटी नबुझाएमा मात्र थुनामा राखिनेछ।

