सबैलाई पठाउनु होला

ताप्लेजुङ, जेठ २३  गएराति परेको अविरल वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने मोटरेबल पुलमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पुलको एक भाग बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ भने ताप्लेजुङ सदरमुकामसँगको सडक सम्पर्क प्रभावित बनेको छ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका ४ थर्पु जोड्ने इन्द्रावती खोलामाथिको पुलमा बाढीले क्षति पुर्‍याएको हो। स्थानीय संजय पन्दाकका अनुसार शुक्रबार राति एक्कासि आएको बाढीले पुलको साब्लाखुतर्फको भाग कटान गरेपछि सवारी साधन सञ्चालन रोकिएको हो।

उनका अनुसार पुलको पक्की संरचनाबाहिरको करिब ६ मिटर भाग बाढीले बगाएको छ। पुलको मुख्य संरचना समेत जोखिममा परेकाले थप क्षति हुन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

पुल क्षतिग्रस्त भएपछि सिदिङ्वा गाउँपालिका क्षेत्रसँगै सिरिजङ्घा गाउँपालिका ७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात सेवा बन्द भएका छन्। यसले स्थानीय बासिन्दाको दैनिक आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न गरेको छ।

सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)का अनुसार पुलमा क्षति पुगेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ जाने तथा पाँचथर, इलाम हुँदै अन्य जिल्लातर्फ जाने सवारी साधन बाटोमै रोकिएका छन्। सिदिङ्वातर्फ प्रवेश गर्ने यात्रु तथा मालवाहक सवारी साधनसमेत पाँचथरतर्फ नै रोकिएको उनले जानकारी दिइन्।

शुक्रबार साँझपछि इन्द्रावती खोलाको माथिल्लो क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। गाउँपालिकाका अनुसार हालसम्म उक्त पुलबाहेक अन्य स्थानमा बाढीले थप क्षति पुर्‍याए नपुर्‍याएकोबारे आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले घटनास्थलको निरीक्षण तथा क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com