सबैलाई पठाउनु होला

पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी राष्ट्रिय गौरवको परियोजनाको कार्यान्वयनबारे सरकार पुनः अन्योलमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पछिल्लो अभिव्यक्तिले बुढीगण्डकी परियोजनाको भविष्यबारे फेरि आशंका उत्पन्न गरेको बताउनुभएको छ।

भट्टराईले आफ्नो नेतृत्वको सरकारले वि.सं. २०६८–०६९ मा बुढीगण्डकी बहुउद्देश्यीय परियोजनाको दीर्घकालीन महत्वलाई ध्यानमा राख्दै अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने अवधारणा अघि बढाएको स्मरण गराउनुभएको छ। तर त्यसपछिका सरकारहरूजस्तै वर्तमान सरकारसमेत परियोजनाको मूल मर्म र कार्यान्वयन मोडालिटीबारे स्पष्ट हुन नसकेको उहाँको संकेत छ।

उहाँले यदि सरकारलाई परियोजनाको रूपान्तरणकारी महत्व तथा प्रारम्भिक अवधारणाबारे अझै भ्रम वा अस्पष्टता रहेको हो भने तत्कालीन बुढीगण्डकी विकास समितिका पदाधिकारी तथा यसमा संलग्न विज्ञहरूसँग छलफल गर्न सुझाव दिनुभएको छ।

भट्टराईले आफ्नो भनाइमा चर्चित उक्ति उद्धृत गर्दै भन्नुभएको छ, “जंगलमा हिंड्दा कतै बाटो बिराइयो भने जहाँबाट बिराएको हो त्यही बिन्दुमा फर्कनुपर्छ।”

उहाँले सरकार, प्रमुख राजनीतिक दलहरू, स्थानीय सरोकारवाला, बुद्धिजीवी तथा आम नागरिकलाई बुढीगण्डकी परियोजनाको विषयमा गम्भीर बन्न आग्रह गर्नुभएको छ। राष्ट्रिय महत्वको यस परियोजनालाई थप अन्योलमा राख्नु देशको ऊर्जा, सिँचाइ, जलस्रोत व्यवस्थापन तथा आर्थिक विकासका लागि हितकर नहुने उहाँको भनाइ छ।

पूर्व प्रधानमन्त्री भट्टराईको यो अभिव्यक्ति बुढीगण्डकी परियोजनाको निर्माण प्रक्रिया, लगानी व्यवस्थापन र कार्यान्वयन ढाँचाबारे पुनः बहस सुरु भइरहेका बेला सार्वजनिक भएको हो। यसले परियोजनाको भविष्य र सरकारको दृष्टिकोणबारे नयाँ राजनीतिक तथा नीतिगत बहसलाई समेत थप बल दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com