स्रोत नखुलेको सुनचाँदीका गरगहना र नगदसहित एक जना पक्राउ सुर्खेत,
जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्रोत नखुलेको सुनचाँदीका गरगहना तथा ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका ६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखी ब्याजमा नगद ऋण दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।
मिति २०८३ चैत १८ गते अपराह्न करिब ४ बजे गरिएको चेकजाँच तथा खानतलासीका क्रममा प्रहरीले विभिन्न दरका नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ८००, तथा विभिन्न किसिमका सुनचाँदीका गरगहना राखिएका बट्टा, पोका र डिब्बा गरी १८५ थान बरामद गरेको जनाएको छ। बरामद गरिएका गरगहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
यसैगरी नगद रकम गन्न प्रयोग हुने एक थान मेसिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १० घर भई हाल वीरेन्द्रनगर ६ बस्दै आएका करिब ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई पक्राउ गरिएको छ। प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

